कलेजोमा बोसो जम्ने समस्या (फ्यात्टी लिभर/Fatty Liver)
डा. रुपेश श्रेष्ठ Dr. Rupesh Shrestha- Consultant Hepatologist (MBBS, MD (Internal Medicine), DM (Hepatology))
कलेजो मानव शरीरको मुख्य अंग हो। कलेजोको विभिन्न कार्यहरु हुन्छन:
१. पित्तरसको उत्पादन
२. खानामा रहेका विभिन्न पोषक तत्वहरुको अबशोषण, भण्डारण , र आवश्यक समयमा उत्पादन र निष्काशन समेत गर्दछ
३. प्रतिरक्ष्यात्मक कार्यहरु
४. मदिराजन्य पदार्थको मेटाबोलिजम
५. औषधिहरुको मेटाबोलिजम, आदि।
कलेजोमा बोसो जम्नुलाइ नै सामान्यतया फ्यात्टी लिभर भनिन्छ। मुख्यत धेरै मदिरा सेवन गर्नाले कलेजोमा बोसो जम्ने समस्या हुन्छ। तर, मदिरा सेवन नगर्ने निम्न व्यक्तिहरुमा समेत यो समस्या देखिनसक्छ:
१. सुगरको बिरामी (Diabetes Mellitus)
२. प्रेसरको बिरामी (Hypertension)
३. रगतमा धेरै बोसिय तत्त्व भएका बिरामी (Dyslipidemia)
४. थाइरोइडको बिरामी , (Thyroid Disorder) आदि ।
सामान्यत यो समस्यालाई Alcoholic Fatty Liver Disease (मदिरा सेवन गर्नेहरुमा हुने फ्यात्टी लिभर) र Non-Alcoholic Fatty Liver Disease (मदिरा सेवन नगर्नेहरुमा हुने फ्यात्टी लिभर ) मा छुट्याइने गरिन्छ।

मदिरासेवन गर्नेहरुमा हुने फ्यात्टी लिभर (Alcoholic Fatty Liver Disease)
लामो समयदेखि नियमित मदिरा सेवन गर्ने व्यक्तिहरु मध्ये ९०% भन्दा बढिलाई फ्यात्टी लिभर देखिन्छ। फ्यात्टी लिभर देखिई सकेपछि पनि मदिरा सेवन गरिरहेमा १०% बिरामीहरुमा कलेजोको दिर्घरोग लाग्ने गर्छ (जसलाई लिभर सिरोसिस, Liver Cirrhosis भनिन्छ) । लिभर सिरोसिस भनेको कलेजो कडा भएर काम नलाग्ने गरि बिग्रने रोग हो। सिरोसिस भएका बिरामी मध्ये ३-१०% लाई कलेजोको क्यान्सर समेत हुनसक्छ ।
मदिरा सेवन नगर्नेहरुमा हुने फ्यात्टी लिभर (Non-Alcoholic Fatty Liver Disease)
संसारमा २५% भन्दा बढि जनसंख्यामा यो समस्या देखिएको छ । धेरै मोटोपना भएका बिरामीहरुमा ५ गुणा बढि यो रोग लाग्ने सम्भावना रहन्छ । त्यसैगरि सुगर भएका बिरामीहरु मध्ये एक तिहाई देखि दुई तिहाई सम्ममा फ्यात्टी लिभर हुनसक्छ । रगतमा बोसिय तत्त्व अत्याधिक भएका बिरामी मध्ये ५०% भन्दा बढिमा यो समस्या देखिनसक्छ ।
नियमित ब्यायाम, स्वस्थ्यकर खानपिन, शरीरको वजन घटाउने, र औषधिको सेवनले यो समस्या समाधान हुनसक्छ । तर बेवास्तागरि आफ्नो जीवनयापन परिवर्तन नगरेमा लगभग ४०% जनामा यो समस्या दिर्घरोगमा परिणत हुनसक्छ ।
रोग पत्ता लागेको १०-१५ वर्षमा, ५-१०% लाई लिभर सिरोसिस भै काम नलाग्ने स्टेज (Decompensated Liver Cirrhosis) मा पुग्नसक्छ भने १-२ % लाई क्यान्सर (Hepatocellular Carcinoma) समेत हुनसक्छ ।
कलेजोको रोग भएतापनि यो समस्या भएका बिरामीहरुको मृत्युको प्रमुख कारण मुटुको रोग हो । यस अर्थमा यो रोगलाई हामीले बहुआयामिक ढंगले उपचार गर्नुपर्ने हुन्छ ।
फ्यात्टी लिभरबाट बच्ने उपायहरु
१. मदिराजन्य पदार्थहरु जस्तै जाँड, रक्सी, छ्याङ्ग, बियरको सेवन नगर्ने ।
२. चुरोट, बिंडी, सुर्ती, तमाखुको सेवन नगर्ने।
३. नियमित ब्यायाम गर्ने
४. शरीरको वजन घटाउने
५. अन्य रोग, जस्तै सुगर, प्रेसर, थाइरोइड आदिको पनि समस्या भएमा, ति रोगको संगसंगै उपचार गरेर सन्तुलनमा राख्ने
६. बोसिय तत्त्व धेरै भएका खाने कुरा, जस्तै घिउ, तेल, चिज, बटर, बोसो आदि कम खाने
७. जंक फुड, बजारमा पाइने पेय पदार्थ, जुस आदि नखाने
८. जथाभावी औसधि, जडिबुटी, आयुर्वेदिक औसधिहरुको सेवन नगर्ने
९. नियमित कफीको सेवनले फ्यात्टी लिभर हुनबाट जोगाउने तथ्य विभिन्न सोध/अनुसन्धानले देखाएको छ ।
फ्यात्टी लिभरका लक्ष्यणहरु
१. कुनै पनि लक्ष्यण नहुन सक्छन
२. धेरै वा चांडै थकान महसूस हुने
३. दायाँ कोखा दुख्ने
४. कलेजो सुन्निने
५. वाकवाकी, बान्ता लाग्ने
६. खान मन नलाग्ने
७. फ्यात्टी लिभर भएर दिर्घरोग लागेमा: पेटमा पानि जम्ने, खुट्टा सुन्निने, होस हराउने, जण्डिस लाग्ने, गाढा पिसाब आउने, ज्वोरो आउने, रगत बान्ता हुने, दिसा कालो आउने, शरीरमा रातो दागहरु आउने, पेटका नसाहरु फुल्ने ।
माथिका यी लक्ष्यणहरु देखिएमा तुरुन्तै कलेजो रोग विशेषज्ञलाई सम्पर्क गर्नुपर्ने हुन्छ । र आवश्यकता अनुसार निम्न जांचहरु गराउनुपर्ने हुनसक्छ:
१. पेटको भिडिओ X-Ray (USG abdomen)
२. रगतमा कलेजोको जांच (Liver Function Test)
३. रगतमा ग्लुकोजको जांच (Random Blood Glucose)
४. थाइरोइडको जांच (Thyroid Function Test)
५. युरिक एसिडको जांच (Uric Acid)
६. रगतमा बोसिय तत्त्वको जांच (Lipid Profile)
७. कलेजोको कडापन र बोसो मापन गर्ने (Elastography/ Liver Scan, इलास्टोग्राफी/ लिभर स्क्यान)
८. सिटि स्क्यान (CT), यम आर आइ (MRI)
९. लिभर को सानो टुक्रा निकालेर जांच गर्ने (Liver Biopsy)
फ्यात्टी लिभरको उपचार
फ्यात्टी लिभरबाट बच्ने उपायहरुनै यसको उपचारका बिधिहरु हुन् । आवश्यकता अनुसार चिकित्सकले औषधिहरु चलाउन सक्छन । मदिरा सेवन नगर्ने बिरामीहरुमा हुने फ्यात्टी लिभरका बिरामीले नियमित खाने खानाको ३०% क्यालोरी कम हुनेगरि खानुपर्छ ।
फ्याटी लिभर तथा अन्य कलेजो सम्बन्धी रोगहरूको सम्पूर्ण जाँच तथा उपचार सेवा लिभर एन्ड डाइजेस्टिभ डिजिज सेन्टर मा उपलब्ध छ । यहाँ सबै प्रकारका कलेजो रोगहरूको सम्पूर्ण मूल्यांकन र अत्याधुनिक उपचार सुविधा प्रदान गरिन्छ ।
All diagnostic and treatment services related to fatty liver and other liver diseases are available at the Liver and Digestive Disease Center, including comprehensive evaluation and advanced care for all liver conditions.
