‘साइलेन्ट किलर’ बन्दै, हेपाटाइटिस
चमिना भट्टराई, Sourya Online
रोगहरूको भिडमा निकै चुनौती बन्दै गएको छ, हेपाटाइटिस । सामान्यतः रोग कुनै पनि मान्छेका लागि सहज र सुखद् हुँदैन । हरेक रोगले मान्छेको ज्यान र धनको नास गर्छ । तर, केही रोगका सहज उपचार र पहिचान हुन्छ भने कतिपयको पहिचान र उपचार जटिल बन्छ । यस्तै जटिल रोगमा पर्छ हेपाटाइटिस । यस रोगका प्रकार नै ५ थरी छन्, जुन मानिसको स्वास्थ्यमा चुनौती थपिरहेका छन् ।
जानकारका अनुसार हेपाटाइटिस हुनु भनेको कलेजोमा गडबढीको अवस्था हो । यी ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ गरी ५ प्रकारका छन् । खासगरी दूषित पानी तथा खानाबाट सर्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ को जोखिम कम गर्न सरसफाइ, सफा खानेपानी र नियमित खोप लगाउनु प्रभावकारी मानिन्छ । रगत तथा असुरक्षित सम्पर्कबाट सर्ने हेपाटाइटिस ‘बी’ र ‘सी’ लाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । त्यसैले यसको जोखिममा रहेका व्यक्तिले समयमै परीक्षण र उपचार गर्नुपर्छ । समयमा नै परीक्षण नभएमा परिणाम निकै खतरनाक हुने विज्ञहरूको चेतावनी छ ।
केही रोग यस्ता हुन्छन्, जसले सुरुमै ठुलो पीडा दिँदैनन्, त्यसले वर्षौंसम्म शरीरभित्र मौनरूपमा गति बढाइरहेको हुन्छ । जब गतिले तीव्रता लिन्छ र शरीरले थेग्न सक्दैन, त्यसपछिको परिणाम गम्भीर बन्छ । सामान्य थकान, भोक कम लाग्नु, पेट फुल्नु वा आँखा अलिकति पहेँलो हुनुलाई खासै वास्ता नगर्ने बानी छ । तर त्यही सामान्य लाग्ने संकेतले कलेजोमा गम्भीर समस्या सुरु भएको सन्देश दिइरहेको हुन सक्छ । जतिबेला वास्ता गरिन्छ, त्यतिबेला उपचारको प्रक्रियाले नभेट्ने अवस्था हुन सक्छ र मानिसकोे ज्यानसमेत जान सक्छ । त्यसैले समान्य संकेतमै सचेत भई परीक्षण गर्नसके उपचार पनि सहज बन्न सक्छ ।
कलेजो मानिसको शरीरको महत्वपूर्ण अंग हो, जसले बाँच्नका लागि आवश्यक सयौँ जैविक प्रक्रिया सञ्चालन गर्छ । हामीले खाएको खाना पचाउन सहयोग गर्ने, शरीरलाई ऊर्जा उपलब्ध गराउने, रगतबाट विषाक्त पदार्थ हटाउने मात्र होइन औषधिलाई शरीरले प्रयोग गर्न मिल्ने बनाउनेदेखि लिएर रोगसँग लड्न सहयोग गर्ने प्रोटिन उत्पादन गर्ने कामसम्म कलेजोले गर्छ । तर त्यही कलेजो आफैँ समस्यामा पर्यो भने शरीरको सन्तुलन बिस्तारै बिग्रिन थाल्छ ।
००००
के हो, हेपाटाइटिस
विज्ञका अनुसार हेपाटाइटिस कुनै एउटै रोग होइन । कलेजो सुन्निएको अवस्थालाई हेपाटाइटिस भनिन्छ । हेपाटाइटिस मध्येको ‘बी’ र ‘सी’ लाई ‘साइलेन्ट किलर’ भनिन्छ । कलेजो बिग्रनुका पछाडि धेरै कारण हुन सक्छन् । अत्यधिक मदिरा सेवन, केही औषधिको असर, अटोइम्युन रोग वा विषाक्त रसायनका कारण पनि कलेजोको कुनै भाग सुन्निन सक्छ । तर संसारभर सबैभन्दा धेरै देखिने कारण भने भाइरल संक्रमण नै हो ।
विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म भाइरल हेपाटाइटिसलाई सार्वजनिक स्वास्थ्य समस्याको रूपमा अन्त्य गर्ने लक्ष्य राखेको भए पनि चुनौती उत्तिकै छ । यसको कारण भनेको संक्रमित मध्ये धेरै व्यक्तिलाई आफू संक्रमित भएको थाहा नहुनु हो । रोग पहिचान हुँदा कतिपयमा कलेजो धेरै बिग्रिसकेको हुन्छ । त्यस्तो अवस्थामा उपचार जटिल हुने र क्षति बढी हुने विज्ञहरू बताउँछन् ।
भाइरस संक्रमण भएपछि वा अन्य कारणले कलेजोमा आक्रमण भएपछि शरीरको प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ । भाइरससँग लड्ने क्रममा कलेजोका कोषहरू पनि क्षतिग्रस्त हुन थाल्छन् र सुन्निन सुरु हुन्छ । सुरुमा सुन्निने समस्या केही हप्ता मात्र रहन सक्छ । विज्ञका अनुसार यस्तो अवस्थालाई एक्युट हेपाटाइटिस भनिन्छ । धेरैजसो हेपाटाइटिस–ए र हेपाटाइटिस–ई यस्तै प्रकारका हुन्छन् । उचित आराम र उपचारपछि बिरामी पूर्णरूपमा निको पनि हुन सक्छ ।
यही क्रममा कलेजोका स्वस्थ कोषहरूको ठाउँमा बिस्तारै दाग (फाइब्रोसिस) बस्न थाल्छ । यदि समयमै उपचार भएन भने यही दाग बढ्दै गएर सिरोसिसमा परिणत हुन्छ । सिरोसिस भएपछि कलेजोलाई आफ्नो सामान्य काम पनि गर्न गाह्रो हुन्छ । त्यसको परिणाम भनेको कलेजो क्यान्सरसम्म पुग्ने जोखिम बढ्छ । सबै प्रकारका हेपाटाइटिस घातक मानिन्छन् । विशेष गरी लागूपदार्थ दुर्व्यसनी, एचआइभी संक्रमित, प्रवासी, बालबालिका र सीमान्तकृत समुदायमा यो रोगको प्रभाव बढी देखिने गरेको छ ।
००००
कतिपय मानिसलाई हेपाटाइटिस भनेपछि एउटा मात्रै रोग होला भन्ने लाग्छ । तर, यसका प्रकार धेरै भएकाले कुन प्रकारको हेपाटाइटिस हो भन्ने बुझ्नुपर्छ । हेपाटाइटिस–ए, बी, सी, र ई सबैले कलेजो सुन्निने समस्या निम्त्याउँछ तर तिनको स्वभाव एकअर्काभन्दा धेरै फरक हुने विज्ञ बताउँछन् । कुनै दूषित पानीबाट फैलिन्छ, कुनै संक्रमित रगतबाट । कुनै केही सातामै निको हुन्छ भने कुनैले वर्षौंसम्म कलेजोलाई बिस्तारै नष्ट गरिरहेको हुन्छ । त्यसैले सबैलाई एउटै ढंगले बुझ्नु हुँदैन ।
समान्यतयः हेपाटाइटिस–ए र ई दूषित खाना तथा पानीसँग जोडिएका संक्रमण हुन् । त्यसैले, सरसफाइ राम्रो हुँदा यी संक्रमणको जोखिम घट्न सक्छ । तर, हेपाटाइटिस–बी, सी र डी भने संक्रमित रगत, शरीरका तरल पदार्थ, असुरक्षित सुई वा असुरक्षित यौन सम्पर्कमार्फत फैलिने संक्रमण हुन् । त्यसैले यिनको रोकथामका उपाय पनि फरक हुन्छन् । यही भिन्नताले उपचारमा पनि फरक पर्ने विज्ञ बताउँछन् ।
हामीले सामान्य ठानेर खाएको पानी, घर बाहिरको सलाद, चटपटे वा राम्रोसँग नपकाएको खाना खाँदा ती खाना भाइरसले दूषित भएमा केही सातापछि त्यसको असर कलेजोमा देखिन सक्छ । हेपाटाइटिस–ए यस्तै संक्रमण हो, जुन मुख्य रूपमा दूषित खाना र पानीबाट फैलिन्छ । भाइरस संक्रमित व्यक्तिको दिसाबाट वातावरणमा पुग्छ र सरसफाइ कमजोर हुँदा पानी वा खानामार्फत अर्को व्यक्तिको शरीरमा प्रवेश गर्छ । त्यसैले सुरक्षित खानेपानी र सरसफाइ राम्रो नभएका ठाउँमा यसको जोखिम बढी हुन्छ ।
हेपाटाइटिस ‘ए’ प्रायः दीर्घकालीन रोग होइन । शरीरको प्रतिरक्षा प्रणालीले केही हप्तादेखि केही महिनाभित्र भाइरसलाई नियन्त्रणमा ल्याइदिन्छ । तर यसलाई सामान्य भनेर बेवास्ता गर्न भने मिल्दैन । विशेषगरी वृद्धवृद्धा, गर्भवती वा पहिलेदेखि कलेजोसम्बन्धी समस्या भएका व्यक्तिमा संक्रमणको खतरा बढी हुन्छ र त्यसले गम्भीर रूप लिन सक्छ ।
००००
उपाचार
हेपाटाइटिस–ए बाट जोगिन महँगो उपचारभन्दा सरल जीवनशैली धेरै प्रभावकारी हुन्छ । उमालेको वा सुरक्षित पानी पिउने, शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुने, फलफूल तथा तरकारी राम्ररी सफा गर्ने र आवश्यक परे खोप लगाउने बानीले संक्रमणको जोखिम निकै कम गर्न सकिन्छ । हेपाटाइटिस–ए लागेको व्यक्तिले पूर्ण आराम गर्नुपर्छ । कलेजोले संक्रमणसँग लडिरहेको बेला मदिरा सेवन गर्नु वा जथाभावी औषधि खानु हानिकारक हुनसक्छ ।
हेपाटाइटिस–बी हेपाटाइटिस–ए भन्दा फरक संक्रमण हो । यो मुख्य रूपमा संक्रमित रगत, असुरक्षित यौन सम्पर्क, संक्रमित सुई तथा संक्रमित आमाबाट नवजात शिशुमा सर्नसक्छ । हेपाटाइटिस–बी को सबैभन्दा ठूलो चुनौती संक्रमित व्यक्तिमा सुरुमा कुनै लक्षण नदेखिनु हो । कतिपय मानिस वर्षौंसम्म आफू संक्रमित भएको थाहै नपाई सामान्य जीवन बिताइरहेका हुन्छन् । तर यही अवधिमा भाइरसले भने बिस्तारै कलेजोलाई क्षति पुर्याइरहेको हुनसक्छ । हेपाटाइटिस–बी भएका सबै बिरामीमा रोग दीर्घकालीन हुँदैन । धेरै वयस्कमा शरीरको प्रतिरक्षा प्रणालीले केही महिनाभित्र भाइरसलाई नियन्त्रण गर्नसक्छ । तर केहीमा संक्रमण ५ महिनाभन्दा बढी रहन्छ । यही अवस्थालाई क्रोनिक हेपाटाइटिस–बी भनिन्छ ।
हेपाटाइटिस–सी पनि मुख्य रूपमा संक्रमित रगतबाट फैलिने संक्रमण हो । विगतमा परीक्षण नगरिएको रगत चढाउँदा यसको जोखिम धेरै हुन्थ्यो । अहिले रक्त परीक्षण अनिवार्य भएकाले त्यो जोखिम घटेको छ । तर संक्रमित सुई, लागुऔषध इन्जेक्सन, असुरक्षित स्वास्थ्य उपकरण वा राम्रोसँग जीवाणुमुक्त नगरिएका ट्याटु उपकरणबाट अझै संक्रमण हुनसक्ने बताइन्छ । हेपाटाइटिस–सीको वर्षौंसम्म कुनै लक्षण देखिँदैन ।
००००
केही वर्ष पहिलासम्म हेपाटाइटिस–सीको उपचार निकै कठिन मानिन्थ्यो । तर अहिले अवस्था धेरै परिवर्तन भएको छ । आधुनिक डाइरेक्ट–एक्टिङ एन्टिभाइरल औषधिले अधिकांश बिरामीमा केही हप्ताको उपचारमै भाइरस पूर्णरूपमा हटाउन सक्छ । तर, एउटा समस्या अझै पनि छ, हेपाटाइटिस–सी विरुद्ध प्रभावकारी खोप उपलब्ध छैन । त्यसैले, यसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको सुरक्षित रहनु हो ।
हेपाटाइटिस–डीलाई अनौठो भाइरस मानिन्छ । किनभने यसले एक्लै संक्रमण गर्न सक्दैन । यो केवल पहिलेदेखि हेपाटाइटिस–बी भएका व्यक्तिमा मात्र देखिन्छ । अर्थात् शरीरमा हेपाटाइटिस–बी नभए हेपाटाइटिस–डीले पनि संक्रमण गर्न सक्दैन । तर, यदि हेपाटाइटिस–बी र डी दुवै संक्रमण भएमा बढी जोखिम मानिन्छ ।
हेपाटाइटिस–ई धेरै हिसाबले हेपाटाइटिस–एसँग मिल्दोजुल्दो हुन्छ । यो पनि मुख्य रूपमा दूषित पानी र खानामार्फत फैलिन्छ । विशेषगरी वर्षायाम, बाढीपछिको अवस्था वा सुरक्षित खानेपानीको अभाव भएका क्षेत्रमा यसको जोखिम बढी हुन्छ । यसको पनि संकेत अरूको जस्तै हो । विशेषगरी गर्भावस्थाको अन्तिम चरणमा, हेपाटाइटिस–ई गम्भीर बन्न सक्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार विश्वभर करिब ३२ करोड ५० लाख मानिस भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट ग्रसित छन् । यो रोगबाट ग्रसित १० जनामध्ये ९ जनामा हेपाटाइटिस भएको पत्तै हुँदैन । हेपाटाइटिस ‘बी’ का ९० प्रतिशत र ‘सी’ का ८० प्रतिशत बिरामी रोगबारे अनभिज्ञ रहने र नजानेरै अरूमा सार्ने गरेकाले यसलाई ‘मौन महामारी’ भनिन्छ । यो एचआइभी/एड्स, औलो र क्षयरोगजस्तै मानिसको ज्यान लिने भयानक रोग बनेको छ । हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हरेक वर्ष विश्वभर करिब १३ लाख मानिसको मृत्यु हुने गर्दछ ।
००००
जोखिम बन्दै छ हेपाटाइटिस – डा. पुकार थापा, कलेजो रोग विशेषज्ञ

समग्रमा भन्दा हेपाटाइटिस भनेको एक किसिमको भाइरल इन्फेक्सन हो । यसले कलेजोलाई आक्रमण गर्छ । यसका पनि विभिन्न जात छन् । ‘ए’, ‘बी’, ‘सी’ र ‘इ’ यी सबै फरक फरक भारसले कलेजोलाई आक्रमण गर्छन् । यो एक प्रकारको इन्फेक्सन हो । यही बढ्दै गएपछि त्यसलाई हेपाटाइटिस भनिन्छ ।
यसको कारणमा हेपाटाइटिस–ए र ई मुखबाट खाने दूषित खानाबाट हुन्छ । ‘बी’ र ‘सी’ चाहिँ सामान्यतः रगतबाट हुने गर्छ । भनेको रत्तदान गर्ने क्रममा रगतबाट सर्ने गर्छ । यस्तै आमाबाट बच्चामा सर्ने पनि गर्छ । ‘बी’ र ‘सी’ रक्तका कारण हुने हो भने ‘ए’ र ‘ई’ खानाका कारण हुने गर्छ । त्यसैले यसका जात अनुसारको असर पनि फरक छ । अहिले यो निकै जोखिम बनेको छ ।
यसमा बुझ्नुपर्ने कुरा केहो भने, हेपाटाइटिस–ए र ई निको भएर जाने रोग हो । तर, ‘बी’ र ‘सी’चाहिँ लामो समय रगतमा संक्रमरण रहिरहने अरू समस्या देखाउने हुन सक्छ । जस्तो लिभर क्यान्सर पनि गराउन सक्छ । ‘ए’ र ‘ई’ चाहिँ उपचार पनि अलि समयमा नै निको हुन्छ । यी ४ वटै जातले हेलचेक्राइ गरेमा हाम्रो स्वास्थ्य प्रणालीमा जोखिम बनाउछ । अर्को कुरा ‘ए’ र ‘इ’ले चाँडै नै लक्षण देखाउने भएकाले समयमा नै उपचार गर्न सकिन्छ ।
‘बी’ र ‘सी’ चाहिँ साइलेन्ट हुन्छ । त्यसैले हेपाटाइटिसलाई साइलेन्ट, डिजिट र साइलेन्ट किलर पनि भन्ने गरिन्छ । त्यसो भन्नका कारण भनेको भित्रभित्रै कलेजो बिग्रीसकेको हुन्छ, थाहा नै हुँदैन । कहिलेकाहिँ लिभरमा क्यान्सर भइसकेको हुन्छ पत्तै हुँदैन । अन्तिम अवस्थामा मात्रै थाहा हुन्छ । त्यति बेला उपचार निकै जटिल हुन्छ । त्यसैले यो निकै जोखिम हुन्छ ।
हेपाटाइटिस–ई त समयमा नै उपचार गरे निर्मुल हुन्छ । ‘बी’ लाई भने नियन्त्रणमा राख्न सकिन्छ निर्मूल पार्न सकिन्न । ‘बी’ को भ्याक्सिन हुन्छ । त्यसबाट बच्न सकिन्छ । ‘सी’ को भ्याक्सिन छैन यदि लाग्यो भने, त्यसको पनि उपचार गरेर नियन्त्रणमा राख्ने हो । त्यसैले यसको संकेत भएमा वा शंका लागेमा परीक्षण गरेर उपचारमा लानु पर्छ ।
Keywords:
hepatitis, hepatitis b, hepatitis c, liver disease
