Contact Us | Schedule a Consultation
मदिराको हानीबारे सचेत व्यक्ति समेत किन यसको तल-तलबाट  उम्किन सक्दैनन् ?

मदिराको हानीबारे सचेत व्यक्ति समेत किन यसको तल-तलबाट उम्किन सक्दैनन् ?

स्वास्थ्यखबर

डा. क्रिस नोउल्स १८ वर्षका हुँदा बेलायतमा रहेको उनको विद्यालयमा अनुसन्धानकर्ताहरू आएर एउटा प्रयोग गरेका थिए। उनीहरू जान्न चाहन्थे—कुन नयाँ (पहिलो–पहिलो) मदिरा पिउनेहरूले रक्सीप्रति बढी प्रतिक्रिया देखाउँछन् र पछि गएर कस–कसलाई मदिरा सेवनको समस्या विकसित हुन्छ।

'प्रयोगका क्रममा प्रत्येक विद्यार्थीको अगाडि दुई–दुई वटा डबल भोड्का राखिएको थियो, ' उनले सम्झँदै भने। नोउल्सले आफ्ना दुई गिलास एकैछिनमै सकाए र छेउमा बसेकी रक्सी मन नपराउने एक युवतीका दुई गिलास पनि तानेर पिए।

हाल लन्डनस्थित क्विन मेरी युनिभर्सिटीमा शल्यक्रियाका प्राध्यापक रहेका र अत्यधिक मदिरा सेवनको विज्ञानबारे नयाँ पुस्तक लेखेका नोउल्सले पछि आफूले अल्कोहल युज डिसअर्डरको उपचार लिनुपरेको बताए।
अनुसन्धानहरूले मुटु र मस्तिष्कका लागि मदिरा सेवनको कुनै पनि मात्रा फाइदाजनक छैन भन्ने देखाएका छन्। यस्ता निष्कर्ष र धेरै पिउनेहरूको व्यक्तिगत नकारात्मक अनुभव हुँदाहुँदै पनि अत्यधिक मदिरा सेवन सामान्य नै छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार, अमेरिकामा १७ प्रतिशत वयस्कहरूले ‘बिन्ज ड्रिंकिङ’ (एकैपटक धेरै पिउने) गर्ने बताएका छन्।

आफ्नो मदिरा सेवन जीवनलाई '१० वर्ष रमाइलो, त्यसपछि १० वर्ष रमाइलो तर नकारात्मक परिणामसहित, र अर्को १० वर्ष केवल नकारात्मक परिणाम मात्र” भनेर वर्णन गर्ने नोउल्सले आफ्नो नयाँ पुस्तक “ह्वाइ वी ड्रिंक टू मच:  द इम्प्याक्ट अल्कोलह अन आवर बडिज एन्ड कल्चर” मा मदिराको आकर्षण किन यति बलियो हुन्छ भन्ने विषयमा अध्ययन गरेका छन्।

मानिस किन मदिरा पिउँछन् भन्ने छोटो उत्तर?
'किनकि यो रमाइलो हुन्छ, र हामीले यसो गर्दा राम्रो कुरा हुन्छ भन्ने सिकेका हुन्छौँ- कम्तीमा हामीलाई त्यस्तै लाग्छ,' नोउल्स भन्छन्।

लामो उत्तरले भने किन केही मानिसहरू अरूभन्दा बढी संघर्ष गर्छन् र किन नकारात्मक परिणाम देखिए पनि पिउन छोड्न सक्दैनन् भन्ने बुझ्न मद्दत गर्छ।

मस्तिष्क, लाभ र जोखिम
'मदिरा सेवनको व्यवहारमा मस्तिष्कले लाभ र जोखिमलाई कसरी बुझ्छ भन्ने कुराको ठूलो भूमिका हुन्छ,' रुगर्‍स एडिक्सन रिसर्च सेन्टरकी निर्देशक तथा मनोचिकित्सक डा. ड्यानियल डिक भन्छिन्।

आफ्ना पुराना साथीहरू सम्झँदा नोउल्स भन्छन्,  'धेरैले मभन्दा कम पिए, तर केहीले उनीभन्दा धेरै पिए पनि समस्या विकसित भएन। त्यसैले धेरै पिउने सबैलाई समस्या हुन्छ भन्ने सिधा सम्बन्ध हुँदैन।'
कसैले कति पिउँछ र मदिरासँग उसको सम्बन्ध कस्तो हुन्छ भन्ने कुरा वातावरण, जैविक बनावट र मनोवैज्ञानिक अवस्थाजस्ता धेरै कुरामा निर्भर गर्छ।

मदिराले मस्तिष्कका ती भागहरू सक्रिय गर्छ, जसले खाना, सम्बन्धजस्ता आधारभूत आवश्यकताहरू पूरा गर्दा जुन सन्तुष्टिको अनुभूति दिन्छ। तर यसको नकारात्मक पक्ष पनि उत्तिकै शक्तिशाली छ।
नेशनल इन्स्टिच्युट अन अल्कोहल एब्युज एन्ड अल्कोहोलिज्मका निर्देशक डा. जर्ज कूब भन्छन्, 'जति धेरै पिउँछौं, उति नै तनावसम्बन्धी न्युरोट्रान्समिटरहरू सक्रिय हुन्छन्, र जब पिएको हुँदैन, तपाईं झन् दुःखी महसुस गर्न थाल्नुहुन्छ।'

उनले थपे- 'तपाईं आफैं खाल्डो खन्दै हुनुहुन्छ र त्यो खाल्डो भर्न फेरि पिउनुहुन्छ। तर हरेक पटक पिउँदा त्यो खाल्डो झन् गहिरो हुँदै जान्छ।'

मदिराका लागि ‘वायर्ड’ मस्तिष्क
केही मानिसहरूको शारीरिक बनावट नै मदिरासँग बढी मिल्ने हुन्छ। उनीहरूको मस्तिष्कले ‘अझै चाहियो’ भन्ने संकेत दिन्छ। तर डा. डिकका अनुसार यो मात्रै सम्पूर्ण कारण होइन।

मुख्य कुरा भनेको मस्तिष्क सन्तुष्टि र जोखिमलाई कसरी प्रशोधन गर्छ भन्ने हो। यदि कसैको मस्तिष्क धेरै सन्तुष्टि खोज्ने र जोखिमलाई कम महत्त्व दिने खालको छ भने, उनीहरू बारम्बार र बढी पिउने सम्भावना बढी हुन्छ।

भाग्नका लागि पिउने बानी
मानिसहरू केवल रमाइलोका लागि मात्र होइन, दुःख, तनाव, डर, उदासी वा पीडादायक सम्झनाबाट भाग्नका लागि पनि मदिरा पिउँछन्।

एडीएचडी, बाइपोलार डिसअर्डर, स्किजोफ्रेनिया, पीटीएसडी  भएका मानिसहरूमा पदार्थ दुरुपयोगको जोखिम उच्च हुन्छ। त्यस्तै न्युरोटिसिज्म, कम आत्मसम्मान, चिन्ता र डिप्रेसनजस्ता मनोवैज्ञानिक गुणहरूले पनि जोखिम बढाउँछन्।

केवल रमाइलोका लागि पिउनेहरूमा निर्भरता विकसित हुने सम्भावना कम हुन्छ। तर आत्मविश्वास बढाउन, प्रदर्शन सुधार्न वा दुःख बिर्सन पिउने बानी भने खतरनाक हुन्छ।

नोउल्स भन्छन्, 'एउटा पुरानो भनाइ छ— यदि पिउनु समस्या हो भने, तपाईंसँग अझै मौका छ। तर यदि पिउनु नै समाधान हो भने, तपाईं पहिल्यै हारिसक्नुभएको हुन्छ।’

सहनशीलता र समस्याको निरन्तरता
सहनशीलता भनेको केवल कति पिएपछि लडखडाउँदैन भन्ने मात्र होइन। राम्रो महसुस गर्न वा नराम्रो भावना हटाउन कति पिउनुपर्छ भन्ने पनि हो।

जति धेरै पिउँदै जानुहुन्छ, उति नै बढी पिउनुपर्छ- उही प्रभाव पाउन।

मदिरा समस्या: दुई ध्रुव होइन, निरन्तरता
डा. डिक भन्छिन्- पिउनेहरू केवल ‘समस्या भएको’ र ‘समस्या नभएको’ भनेर दुई भागमा विभाजन हुँदैनन्। यो एउटा निरन्तर दायरा हो।

एक छेउमा कहिल्यै नपिउने वा थोरै पिउनेहरू हुन्छन्। अर्को छेउमा हल्का, मध्यम वा गम्भीर मदिरा सेवन विकार भएका मानिसहरू हुन्छन्।

बीचतिर ‘ग्रे एरिया ड्रिंकर’ हुन्छन्, 'जसलाई अझै काम, परिवार वा स्वास्थ्यमा ठूला समस्या देखिएका हुँदैनन्, तर उनीहरू आफ्नो पूर्ण क्षमतामा बाँचिरहेका हुँदैनन्।

कम पिउने वा नपिउनेतर्फ
जुनसुकै स्तरमा भए पनि मदिरा सेवन घटाउँदा स्वास्थ्य लाभ हुन्छ।

नोउल्सका अनुसार, मदिरासँगको सम्बन्ध परिवर्तन गर्न सुरुमा केही समय पूर्ण रूपमा नपिउने अभ्यास (जस्तै ‘ड्राइ जनवरी’) उपयोगी हुन्छ।

त्यसपछि मदिराका फाइदा–बेफाइदा बुझ्ने, मदिराबाहेकका सामाजिक गतिविधि खोज्ने र दबिएका मनोवैज्ञानिक समस्याहरू समाधान गर्ने आवश्यक हुन्छ।
आजभोलि युवापुस्ता अघिल्ला पुस्ताभन्दा कम पिउँदै छन्, र नन–अल्कोहलिक पेय तथा मोकटेलको संस्कृति बढ्दै गएको छ।

गम्भीर मदिरा सेवन विकार भएका मानिसहरूका लागि भने अल्कोहोलिक्स एनोनिमस, उपचार केन्द्र र मेडिकल डिटक्स अत्यन्तै महत्वपूर्ण हुन सक्छन्।

अन्ततः, मुख्य कुरा पिउन कम गर्नु मात्र होइन- मस्तिष्कले इनाम कसरी पाउँछ र तनावलाई कसरी सामना गर्छ भन्ने कुरालाई पुनः व्यवस्थित गर्नु हो।
कूब भन्छन्, '३५ वर्षदेखि संयममा रहेका मानिसहरूले पनि भन्छन्-यो आजीवन प्रयास हो।'

Reposted from- मदिराको हानीबारे सचेत व्यक्ति समेत किन यसको तल-तलबाट  उम्किन सक्दैनन् ? - स्वास्थ्यखबर :: Swasthya Khabarpatrika

Keywords:

alcohol use disorder, alcohol addiction, alcohol and liver disease, alcoholic liver disease, alcohol dependence, quitting alcohol, dry january, alcohol recovery, Swasthya Khabar, liver health nepal